सन्दीप, सम्भावना र सपना (कान्तिपुर, नागरिक र राजधानी)

सन्दीपमाथि दिल्लीको भाउ लागेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्रीदेखि ठूला नेताहरूको बधाईको ओइरो नै लागेको थियो । तर, कुनै पनि सरकारले क्रिकेटको समस्या समाधान गर्न दरिलो कदम चालेका छैनन् । सरकार आफैं लागिपर्ने हो भने नेपाली क्रिकेटको समस्या तुरुन्तै हल हुन सक्छ । संघको समस्या समाधान नगरेसम्म क्रिकेटको तीव्र विकास सम्भव छैन । त्यसैले स्वार्थ त्यागेपछि मात्र सन्दीपसँगै नेपाली क्रिकेटले पनि छलाङ मार्न सक्छ । (कान्तिपुरको सम्पादकीय)

दिल्लीसँग सन्दीपको आबद्धताले नेपालमा अरु पनि धेरै क्षमतावान् क्रिकेटर छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय जगत्मा पुगेको छ । यसले नेपालका अरु क्रिकेटरलाई पनि विदेशी लिग खेल्न सम्भावनाको ढोका खोल्नेछ । अन्तर्राष्ट्रिय जगत्मा नेपाली क्रिकेट र खेलाडीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेछ । सन्दीपलाई दिल्लीले अनुबन्ध गर्नेबित्तिकै अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क, इङल्यान्डका पूर्वकप्तान माइकल भोनलगायतले ट्विटरबाट बधाई दिँदा प्रयोग गरेका सम्मानजनक शब्दको पक्कै पनि ठूलो अर्थ छ । (नागरिक सम्पादकीय)

सन्दीपको आईपीएल यात्रा नेपाली क्रिकेटका लागि ठूलो अवसर हो । सन्दीपका सामु आफूलाई प्रमाणित गर्ने चुनौतीहरू छँदाछँदै पनि उनको यो यात्रा नेपाली क्रिकेटका लागि नयाँ उचाइमा पु¥याउने कोसेढुंगो सावित होस् । क्रिकेटको विकासमा नाममा व्यक्तिगत स्वार्थका कारण द्वन्द्व सिर्जना गर्ने पदाधिकारीहरूमा समयमा नै बुद्धि फिरोस् । खेलकुदले सबै नागरिकलाई एकतामा बाँध्ने काम गर्दछ अब त खेलकुदको माध्यमबाट दुई देशबीचको तिक्ततालाई समेत बन्धुत्वमा बदल्ने उदाहरण दक्षिण र उत्तर कोरियाले २०१८ मा हुने विन्टर ओलम्पिकमा सहभागिता जनाउने विषयले देखाएको छ । त्यसैले सन्दीपको यो आईपीएलले नेपाली क्रिकेटमा नयाँ अध्याय लेख्नेछ । त्यसका लागि सरकार, खेलकुदपरिषद् र संघले बेलैमा सोच्नुपर्नेछ । नेपाली खेलाडी विश्वस्तरका भइसक्दासमेत सामान्य भौतिक पूर्वाधारसमेत निर्माण गर्न नसक्ने तर पदका लागि मरिहत्ते गर्नेहरूमा चेतना आओस् । (राजधानीको सम्पादकीय)

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *